कथाः जातीय चेतना…
–भावना परिष्कृत सुनुवार
‘तेरो आमालाई रुवाएर जाँदैछस् ! हामी त आफ्नो मनलाई थामौँला तिमरकी आमालाई कसले सम्झाउने ?’ भारी मिलाउँदै गरेको निर्मललाई पोषबहादुरले असन्तोष र आक्रोशित स्वरले भन्यो ।
‘हत्तेरिका आफ (बुवा) पनि ! म कहाँ नफर्कने गरी जान लाग्या हो र ? बेलामौकामा भेट्न आम्ला । मेरो उता चाँजो पाँजो राम्रो मिलेपछि आमा र तपाईँलाई उतै बस्ने गरी लिन आउँला ।’
निर्मलले पोषबहादुरको साइँलो छोरो । बाबु बिट्रिश लाहुरेको अफिसर, छोरोछोरीलाई शिक्षा दीक्षा दिने कुरामा सक्दो पैसा पेलेकै हुन बरा । पेन्सन आएपछि अरू नम्बरीहरू जस्तै सहरमा भासिएनन् । आफ्नै गाउँ प्यारो थियो उनलाई । १७ वर्षको लर्के जवान हुँदा भर्ती गएको उ ४० वर्ष हुँदा पेन्सन आएको हो । चार जना छोरा र एक छोरीको पिता पोषबहादुरलाई गाउँमा मेजरसाब शब्दले मान सम्मान दिन्थे । ऊ पनि मान सम्मान योग्यकै थियो । परेको बेलामा गाउँदेखि छिमेकी गाउँ सबलाई सक्दो मद्दत गथ्र्यो । उसले आफ्नो गाउँमा सबैभन्दा पहिले खानेपानी र शौचालयको व्यवस्था गर्यो । धन हुनेले लगानी गरे आफ्नो गाउँको सेवा सुविधाको निम्ति भने नहुनेले श्रम लगाए । खानेपानीको धारो घर घरमा आएपछि अरू विकासको निम्ति गाउँलेहरू उक्सिए मेजर पोषलाई साथ दिँदै । बिस्तारै क्रमिक रूपमा वैयरघारी गाउँका जनताहरूले संगठित भई जुटेर परिवर्तन ल्याएर छाडे । गाउँमा बिजुली बत्ती आयो, क्याम्पस पढ्न विद्यार्थीहरूलाई जिल्ला धाइ डेरा लिएर बस्नु परेन । कृषकहरूले कृषि र पशुपालन व्यवसायमा सिप र तालिम लिएर उद्यमी बने । महिलाहरूको निम्ति सिप बिकास केन्द्र खोलियो । स्वावलम्बी र आत्मनिर्भर हुन सिके महिलाहरू । छोराछोरी सबैलाई समान रूपमा शिक्षाको अवसर दिने थालनी भयो । यसै गरी गाउँमा स्वास्थ्य केन्द्र स्थापना भयो ।
बिहान उठेदेखि बेलुका नसुतेसम्म जाँड रक्सीको तालमा झगडा गर्दै बस्ने लोग्ने मान्छे आइमाइ सबैलाई चेत खुलेको देख्दा पोषबहादुर हर्ष विभोर भएको थियो आफ्नो प्रयास खेर नगएको देखेर । अर्काको भुमीको लागि सिङ्गो जीवन र जवानी खर्चेर आएको उसको मनमा अब समाज र देशप्रति थोरै समयमा धेरै योगदान पुर्याउने इच्छा शक्ति चट्टान झैँ मजबुत भई उठेको थियो । बिस्तारै गाउँको रूप फेरिँदै गयो । सुनुवार कोइँचको घना बस्ती र अन्य जातजाति बसेको त्यो गाउँको काँचुली फेरिनुमा सबैले पोषबहादुरको गुनगान गाएर नथाक्ने भए । बच्चा अवस्थादेखि जाँड रक्सी खाने, शिक्षाको कुरामा पछि पर्ने, नयाँ कुरा सिक्न नचाहने, समय र युगको गति मिलाएर हिँड्ने आँट र साहस नराख्नु नै समाज पिछडिनुको, पतन हुनुको मुख्य कारण बुझ्दै गए त्यहाँका बासिन्दाहरूले ।
आफ्नो मौलिक परम्परा र भाषा संस्कृतिका अपार धनी कोइँच सुनुवारहरू जातीय पर्व उभौली, उधौलीलाई पश्चिमी आधुनिक संस्कृतिको अतिक्रमणको कारणले कतिपयले मान्न भुलेका थिए भने कतिले चासो राख्न छाडेका थिए । जसको मुल कारण किराँत धर्मबाट ओझेल पर्दै हिन्दुकरण हुनु र इसाई धर्म आदि अन्य धर्म परिवर्तन गर्नु नै मुख्य कारण थियो । ‘धर्म परिवर्तन गर्नु मानिसको नैसर्गिक अधिकार हो । तर आफ्नो जातीय पहिचानै गुम्ने गरी मौलिक धर्म, भाषा, संस्कार र संस्कृतिलाई अपहेलना गर्नुं भनेको हामी सुनुवारहरू आफ्नै सुनुवार जातको गरिमाबाट खस्नु हो । तसर्थ जे जस्तो धर्म प्रति झुकाउ भए पनि, आस्था भए पनि आफु पहिला सुनुवार भएको र आफ्नो भाषा तथा संस्कृतिप्रति जातीय पहिचान दिने अन्य विषयहरू प्रति गर्व गर्न सक्नु पर्छ । आफ्नो समुदायलाई त्यागेर भाषा र धर्मलाई खिसी गरेर आधुनिकताको नक्कली जामा लगाउन पुग्नेले अन्ततोगत्वा उसले सजाय पाएर छाड्छ र पछि उनैको भावी सन्ततिले नि उसलाई सराप्ने छन् ।’ सबैलाई यसरी बुझाएर चेतनाले परिपूर्ण पार्न सक्ने पोषबहादुरले आफ्नो छोरा निर्मललाई भने परिवर्तन गर्न नसकेको देखेर गाउँलेहरू अचम्भित भएका थिए ।
जेठा छोरा विशाल आफ्नै गाउँको क्याम्पसमा अध्यापक भएर सेवा बाँडेका थिए । माइलो छोरो बिट्रिश सेनामा सेवारत थिए । कान्छो छोरो कानुन विषय लिएर पढ्दै थिए भने छोरी नम्सी मेडिकल कलेज पढ्दै थिइन् । साइँलो छोरो निर्मल सानैदेखि पढाइमा खुबै होसियार थियो । उसको मेहनत र लगनको फल सानै उमेरमा चाख्न थालेको देख्दा बाबु पोषबहादुर र आमा पार्वती देवी दंगदास थिए । उ बैंकको पहिलो श्रेणीको मेनेजर पदमा पुगिसकेको थियो ।
‘बुवा गाउँ गाउँ भन्दै मैले सेवामा मात्र समय बर्वाद पारेको भए मैले यो सफलताबाट बञ्चित हुन पथ्र्यो । मैले जे पाएँ सब सहरबाट पाएँ । म आफ्नो सन्तानहरूलाई गाउँमै मात्र सिमित राख्न चाहन्न र म पनि आफ्नो दक्षता र योग्यतालाई सहरमै प्रयोग गर्न चाहन्छु ।’ उसले बाबुसँग त यसरी भन्दा आमाले सम्झाएकी थिइन् । ‘ठिक छ छोरा तिम्रो कामधाम सहरमा नै गर तर गाउँ त्यागेर हामी परिवार र समाजदेखि टाढा बस्ति बसाल्ने कुरा नगर । आफ्नो समुदाय भनेको आफ्नै हुन्छ । सुख पर्दा त साथ माग्नु पर्दैन हाँस्नलाई तर छोरा ! दुःख पर्दा एक्लो भइन्छ । त्यो अवस्थामा आफ्नै परिवार र समुदाय मात्र काम आउँछ । अङ्गालिएर रुनलाई साथी चाहिन्छ, मनको ब्यथा पखाल्नलाई ठाउँ चाहिन्छ । त्यसैले त्यति दूर एक्लै बस्ति बसाउन नजा छोरा… !’
निर्मलले निश्चय गरिसक्यो आफ्नो गाउँभन्दा धेरै टाढाको सुविधायुक्त सहरमा स्थाई बसोबास बसाउन । त्यसमा उनकी श्रीमतीले नि साथ दिइन् । ‘आफ्नो जात अनि समाज भन्दै कुवाको परिधिमा बस्नु ठिक छैन । आजको विश्व भनेको विज्ञान र प्रविधिको युग हो । विज्ञान नै सभ्यता हो, शिक्षा नै सर्वोपरि हो । आफु शिक्षित र दीक्षित छौँ भने संसारको जुन कुनामा गएर बसे पनि फरक पर्दैन । आजको युगमा पनि फरिया चोलो र झुम्के थैली लगाई कुप्नी (पछ्यौरी) बेरेर को बसोस् । युग सुहाउँदो अनि आफूलाई मन पर्ने पहिरन लगाइन्छ, स्वतन्त्र बसिन्छ । धर्म र संस्कारको नाममा मानिसको दिमाग सङ्कुचित भएको देख्छु, साम्प्रदायिक हुँदै गएको देख्छु । हामी त्यस्तो चाहन्नौँ आफ्नो छोरा छोरीको निम्ति ।’ बुहारी मीराको पनि यस्तो चाहना बुझेपछि भने झनै पोषबहादुर बिचरा चुप रहे ।
निर्मलले गाउँ छाडेर जाने दिन पार्वती देवी ष्याँदर देयीको थान नजिकैको स्थानमा गएर रुँदै बसेकी थिइन् । उनले आफ्नो छोरा बुहारीको निम्ति भाव विभोर भएर ष्याँदर देयीसँग प्रार्थना गरिन्, भर मागिन् ।
हिँड्ने बेलामा आमालाई खोजी गरे निर्मल र मीराले । ‘जाने बेलामा रुवाएर कसरी मन थामी बाटो लाग्न सक्छौ तिमेरु ? जाउ ! जाउ !!’ पोषबहादुरले छोरा निर्मलतिर पिठ्यु फर्काएर आदेश दियो । त्यतिखेर उसको छाती चिरँदै आँखाबाट पिडा पोखिदै थियो ।
त्यो सहरमा निर्मलले सोचेको सबै पायो । पूर्व नेपालको पहाडी भेगबाट पश्चिम नेपालको तराईँ भुमी विकसित सहरमा निर्मल र मीराको परिवार सुख र आनन्दमा बिस्तारै गाउँलाई भुल्दै गए । बेला बखतमा फोन गर्ने बानी पनि हट्दै गयो निर्मलको । घरतिरबाट फोन आउँदा लामो कुराकानीको लागि उसँग समय हुँदैन थियो । ‘आज त ष्याँदर हो नि ! हामी सबै एकै ठाउँ भेला भएका छौँ, तिमरलाई सबैले सोधेका थिए’ पोषबहादुरले पनि अब यसरी फोन गर्न छाडेको निकै भयो ।
राम नवमी, दशहरा, होली, दिवाली, करुवा चौथ मनाउँदै हुर्केर बढे छोरा कुम्सो र छोरी सील । आफ्नो जातीय चाड ष्याँदर उभौली र उधौली लगायत अन्य मौलिक पर्वविशेषप्रति टाढिदै जान थाल्यो निर्मलको परिवार । छिमेकीहरू सबै असल थिए, सभ्य र शिक्षित थिए, आधुनिक थिए । निर्मलले घर किनेको आवास क्षेत्रमा विभिन्न जातीय समुदायका मानिसहरू थिए । तर सुनुवार (कोइँच) उसको परिवार मात्र थियो । कुनै खुशीयाली र उत्सवमा सबै भेटी जम्मा भई मस्तीले आनन्द लिन्थे । यसै गरी दुःख बिमार पर्दा पनि के भयो ? कसो भयो ? हामी पनि छौ नि, तपाईँ एक्लो हुनुहुन्न भन्दै सान्त्वना दिनेहरूको भिड लाग्थ्यो । निर्मललाई कुनै पछुतो थिएन आफ्नो थाँत थलो छाडेर घर परिवार समुदाय छाडेर आएकोमा । नयाँ ठाउँमा आफ्नो चाहना अनुसार अनुकूलता मिलिरह्यो उसलाई । अब उसका बालक कुम्सो र बालिका सील पनि युवा अवस्थामा ढकमक्क भई बसाउन थाले । निर्मलको र मीराको पनि बाक्लो घना कालो केश पातलिँदै सेतो हुन सुरु भयो । यस बिचमा छिमेकमा कैयौँ शुभकार्यहरू भए । विवाह, ब्रतवन्ध, अन्नप्राशन, छटी आदि । यसैगरी शोक र दुःखका घटनाहरू नि घटे । तर कुशल मर्दा जस्तो अनौठो घटना कहिल्यै घटेको थिएन । कुशल गुरुङ आफ्ना सानासाना नानीहरू र श्रीमतीको साथमा स्थाई बसोबासको लागि आएको दश वर्ष मात्र हुँदै थियो । उ होटल व्यवसायी थियो । हट्टाकट्टा नवजवान उ एक बिहान सुतेको अवस्थामै मृत भेटियो । उसको पोष्टमार्टमबाट मृत्युको कारण हृदयघात भनि खुटियो ।
कुशलको शवलाई आफन्तले नबुझेसम्म डेथहाउसमा राखियो । मनसरा कुशलकी श्रीमतीले शोक विलापमा केही निर्णय गर्न सकिनन् । बालक बच्चाहरू बाबा कहाँ जानु भयो । घर किन आउनु भएन भन्दै रुन थाले । छिमेकी र साथीभाइले केही समयको साथ र सान्त्वना दिए पनि कुशलको पार्थिव शरीरलाई छुने हिम्मत कसैले गरेनन् । ‘ल अब जे नहुनु पर्ने भयो, टारेर टर्दैन, लेखन्तको कुरा ! धेरै शोक नगर्नु मनसरा तपाईँले । बच्चाहरूको लागि तपाईँ नै बाबु आमा दुवै बन्नु पर्छ । यसको निम्ति तपाई पहिला भन्दा मजबुत हुनुपर्छ मन र व्यवहार दुवैले । तपाईँको आफ्नो जात धर्म भित्र के कस्तो संस्कार छ त्यो हामीले गरेर हुँदैन । वरिपरि हामीलाई थाहा भए अनुसार गुरुङ थरको कोही छैन । त्यसैले तपाई कुन ठाउँबाट आउनु भएको हो त्यहाँ खबर गर्नुपर्ने हुन्छ । छिमेकीहरूको यो सुझावले मनसरा आफ्नो विगत सम्झेर पछुताउँदै झनै रोइन् । अब कुन मुख लिएर यस्तो अशुभ खबर दिनु मैले । भिर कुनाको गाउँ, अन्न बाली नहुने सुदूर पहाडमा हामीलाई बस्न मन लागेन । हामी दुवै पोखरा सहरमा पढेका हौँ । सहर बजारकै सुविधामा बस्ने बानी परेपछि गाउँमा हाम्रो मन लागेन । कुशलको माडे साथी थियो राजेश भन्ने, उसैसँग लागेर हामी यहाँसम्म आएका हौँ । पछि बस्ति यतै सर्ने कुरामा घरकाहरू कोही राजी भएनन् । समाज पनि राजी भएन । आफ्नो कोही नभएको ठाउँमा काम गर्न मात्र जाउ, घर बनाएर बस्ति नबसाउनु भने सबैले । हामीले मानेनौँ र ठूलाबडाको मन चित्त कुँडाएर त्यसरी आफ्नो थाँत थलो छाड्यौँ । आज राजेशले पनि पार्टनरसिपमा धोका दिएर रकम कुम्लाई इण्डियातिर भाग्यो । कुशल एक्लै ऋणको फन्दामा परेर पिरै पिरले ज्यान गुमायो । अब म के गरौँ ? कसरी लोग्नेको… ’ भन्दै विलापमा झन् बउरिन थालिन् ।
‘जन्मँदा र मर्दा त हो नि आफ्नो धर्म संस्कारको मजबुत डोरी मानिसलाई नबाँधी नहुने । अब यसरी हुँदैन हामी मध्ये कसैले त कुशलको घरमा खबर गर्नुपर्छ’ एक जनाले यसो भनेपछि प्रयास गरियो कुशलको घरमा सम्पर्क गर्न । तर पहाडी भेग भएकोले सञ्चारका सुविधाबाट टाढा रहेको स्थानमा सम्पर्क गर्न सम्भव हुन नसकेपछि निर्मलले आफ्नो सम्पर्कमा रहेका एक जना गुरुङ मित्रलाई फोन गर्यो । त्यसको तिन दिन पछि गुरुङ समाजबाट १०÷१२ जना व्यक्तिहरू आई कुशलको शवलाई लिएर आफ्नै थाँतथलो तिर साथमा मनसरा र बच्चाहरूलाई पनि लिएर गए ।
‘अरू बेला छुन हुने, खान हुने सबै कुरामा मेल हुने तर झन् मानिस मरेको दुःखद बेला किन छुन नहुने ? एक जातको क्रियाकर्म अर्कोले किन गर्न नहुने ? जात धर्म र संस्कारको नाममा मान्छे किन यति धेरै फरक ?’ छोरी सीलले अनौठो मान्दै सोधिन् निर्मलसँग ।
त्यतिखेर उ अवाक भयो । कुनै उत्तर थिएन उसँग र उनकी श्रीमती मीराले पनि कुनै उत्तर पाइनन् । हो त्यो सहरमा त्यो नयाँ बस्तीमा सबै मिली रहेको थियो । सुख पर्दाको क्षणमा । यसको सट्टा आफ्नो धैर्य गुमाउँदै गएको बल्ल आभास ग¥यो निर्मलले । उसले आफ्नो पहिचान गुमाएको थियो कोइँच हुनुको ।
आफ्नो जातीय भाषा र संस्कृतिबाट उसले आफ्नो छोरा छोरीलाई पारपाचुके गराइ रहेको थियो । सुनुवार कोइँच भाषाको सट्टा अरू नै स्थानीय भाषाहरू बोल्ने भएका थिए बच्चाहरू । आफ्नो कोइँचको बारेमा अनभिज्ञ थिए उनीहरू । यो सबको दोषी स्वयम् निर्मल थियो । आधुनिकताको नाममा एक्लै दूर दराजमा बस्ती बसाउँदा अब उसले पछुतो ग¥यो । कुशलको मृत्युको घटनादेखि उभित्र जातीय चेतनाको आँखा खुल्यो । अनि निर्णय ग¥यो र भन्यो, ‘छोरी मैले अब आएर बल्ल तेरो बगे (बजु, किकी) बाजेको कुरालाई बुझ्न सकेँ । उहाँहरूको आत्मालाई पनि मैले ठूलो चोट पुराएछु । यहाँ हामी सबैको बिचमा जातीय धर्म संस्कृतिको हिसाबले एक्लो रहेछौँ । आफ्नो समाजबाट धेरै टाढा एक्लो बस्ति बसाल्नुको मुर्खता आज बोध भयो मलाई । कमसे कम त्यो कुशलको पनि दुई चार घर उसैको जात धर्मको परिवार यता भएको भए हप्तौँ दिनसम्म उसको पार्थिव शरीर अस्पतालको मुर्दा घरमा राख्नु पर्दैन थियो । हामी पनि एक्लो पो रहेछौँ त छोरी ! अब बाजे बजुलाई सम्झेर आफ्नै गाउँठाउँमा फर्कनु पर्ला ।’ चश्मा हटाउँदै आँखाको आँसुलाई पुछ्दै निर्मलले भन्यो ।
‘कामको सिलसिलामा हिँडे पनि अब यसरी बस्ति सर्न हिँडिदैन जन्म घर छाडी । कि त आफ्नो समुदायको कोइँचहरू केही घर हुनै पर्यो त्यो नौलो ठाउँमा । यसरी एक्लै हामी यहाँ बसेको कारणले सामाजिक र सांस्कृतिक कारणबाट धेरै पछि परेछौँ । मैले त सामानहरू बाँधी सके नि । घरमा गएर आम आफसँग माफी माग्नु पर्छ ।’ मीराले लोग्नेलाई ढाडस दिँदै भनेपछि कुम्सो र सीलले पनि आ–आफ्नो सामान सुटकेशमा मिलाउन थाले । निर्मलको परिवारले आफ्नो जातीय चेतनाको बोध गर्दै गाउँ फर्किए ।
आफ्नो सुनुवार भाषा भुलेको प्रति, छोराछोरीलाई किराँत कोइँच धर्म संस्कारबाट टाढा राखेको प्रति, आफ्नो पहिचान भुलेर पराई धर्म संस्कारमा भ्रमित जीवन बिताएको प्रति पश्चाताप गर्दै आफ्फ (बुवा), आम (आमा) को वचनहरू स्मरण गर्दै निर्मल सपरिवार घर फर्कियो जातीय चेतनाले युक्त भएर ।