प्रबोध साप्ताहिक अनलाइन संस्करण,
धरान / सुनुवार सेवा समाज धरान उपमहानगर समितिले सुनुवार भाषा (कोईच लो) प्रशिक्षण समापन समारोह सम्पन्न गरेको छ । धरान उपमहानगरपालिका कार्यलयको लगानीमा ३५ दिने सुनुवार भाषा प्रशिक्षण कार्यक्रम भएको थियो ।

भाषा प्रशिक्षण कार्यक्रम फागुन २० गतेदेखि चैत्र २५ गतेसम्म सञ्चालन भएको थियो । भाषा प्रशिाक्षणमा धरानका २२ जना सुनुवार युवयुवतीहरु सहभागी भएको प्रशिक्षक कर्ण सुनुवारले बताएका छन् । सुनुवार समुदायिक भवनमा भएको समापन समारोहमा धरान उपमहानगरपालिका वडा नं. १४ की वडा सदस्य झरना पौडेल सुनुवारले हरेक जातिको भाषा महत्वपूर्ण भएको बताइन । वडा सदस्य सुनुवारले जातिको भाषा भएपछि मात्र संस्कार, संस्कृति हुने बताइन् ।

कार्यक्रमका प्रमुख अतिथि सुनुवार सेवा समाज सुनसरी जिल्ला समन्वय समिति अध्यक्ष टार्जन सुनुवारले सुनुवार जातिको पहिचान भाषामाथि राज्यले प्रहार गरेको बताए । उनले राज्यले सुनुवार जातिको पनि भाषा, शिक्षा र रोजगारीको व्यवस्था गरिदिएको भए पहिचान नमासिने बताए । सुनुवारहरुको भाषा, संस्कार, संस्कृति बचाउन राज्यको विभिन्न तहमा प्रतिनिधित्व गर्ने सुनुवारहरुले पहल गर्नु पर्ने समेत माग गरेका छन् । उनले सुनुवारहरु पहिचानको आन्दोलनमा पनि संगठित भएर अगाडि आउन आवश्यक रहेको औल्याए ।

नगर अध्यक्ष गोपाल सुनुवारको अध्यक्षतामा सम्पन्न कार्यक्रम सचिव सन्तोष सुनुवारले सञ्चालन गरेका थिए । कोषाध्यक्ष हेमराज सुनुवारले स्वागत मन्तव्य रखेका थिए । कार्यक्रममा समाजका जिल्ला समन्वय समिति सचिव रोशन याता सुनुवार, समाजका पुजारी डिल्ली सुनुवार, शुक्रबहादुर सुनुवार लगायतको उपस्थिचि रहेको थियो । कार्यक्रममा प्रशिक्षणमा सहभागीहरुलाई प्रमाण–पत्र समेत प्रदान गरिएको थियो ।

Source: Prabodhweekly

Leave a Comment